काठमाडौं । राजधानी काठमाडौंको बानेश्वरस्थित संघीय संसद् भवन अगाडि आफैंलाई आगो लगाएका प्रेम आचार्यको आज दुखद निधन भएको छ ।
प्रधानमन्त्री पुष्पमकल दाहाल ‘प्रचण्ड’ संसद् भवनबाट निस्किएलगत्तै उहाँले मुल सडकमा आफैंलाई आगो लगाउनुभएको थियो । उहाँ आज यो संसारमा हुनुहुन्न ।
प्रहरीले तत्काल उद्दार गरेर उहाँलाई कीर्तिपुर अस्पतालको बर्न बार्डमा पुर्याएपनि बचाउन सकिएन । अस्पतालमा भर्ना गरेपछि थाहा भयो, उहाँ इलामका सूर्योदय नगरपालिका–११, फिक्कलका प्रेमप्रसाद आचार्य सन्तोष हुनुहुदो रहेछ ।
चिकित्सकहरुका अनुसार अस्पताल पुर्याउँदा उहाँको शरीरको लगभग ८० प्रतिशत भाग जलिसकेको थियो । उहाँको उपचारकै क्रममा बुधबार बिहान निधन भएको छ ।
आत्मदाहअघि सामाजिक सञ्जाल फेसबुकमा लामो नोट लेखेको सार्वजनिक भयो । नोटमा रंगिन सपना बुनेर परिवार, समाज र देशप्रतिको जिम्मेवारी बहन गर्दै जाँदा अनेकौं ठक्कर खानु परेको उल्लेख छ । वैदेशिक रोजगारीमा जाँदादेखि उद्योग चलाउँदा भोग्नु परेको समस्या र त्यसबाट पाएको शून्य उपलब्धी पाएको उहाँले उल्लेख गर्नुभएको छ ।
आफ्नो आत्मवृत्तान्त र असफलताको कथा भन्दै लेखेको लामो स्ट्याटसमा स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीलाई पनि सम्बोधन गरेको देखिन्छ ।
‘देश चलाउने हुटहुटीमा सत्तामा पुगेका नयाँ पार्टी तथा नयाँ सांसद् रवि लामिछाने, राजेन्द्र लिङ्देन, ज्ञानेन्द्र शाही, सोविता गौतम, गगन थापा, विश्वप्रकाश शर्मा, योगश भट्टराई, तोसिमा कार्की लगायत तमाम नयाँ अनुहारहरुलाई विन्ती, सरकार बनाउने, मन्त्री हुने मात्र प्रतिष्पर्धा होइन, कसैले नदेखेको तर जनतालाई पिल्साएको मुद्दाहरु आँखा च्यातेर केलाउनुस्, समाधान गर्नुस्’, उहाँले लेख्नुभएको छ ।
हाल स्वास्थ्य राज्य मन्त्री समेत रहनुभएकी कार्की उहाँको स्ट्याटस पढेलगत्तै मंगलबार बेलुकी कीर्तिपुर अस्पताल पुग्नुभएको थियो । स्वयम् पनि जनरल सर्जन रहेकाले आफूलेपनि उपचारमा सघाउ पुग्नेगरी हेरेको आचार्यलाई बताउनुभएको थियो ।
तोसिमा पुग्दासम्म उहाँ बोल्न सक्ने हुनुहुन्थ्यो । ‘नयाँ सरकरा बनेको थियो, केही न केही उपाय खोज्थ्यौं । हामी नयाँ थियौँ । किन यस्तो निर्णय लिनु भयो ?’ प्रेम दाई भन्दै उहाँले प्रश्न गर्नुभयो । जवाफमा प्रेमले कसैले केही नसुन्ने बताउनुभयो । कुराकानी : फेसबुकमा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।
डा. तोसिमा : प्रेम दाई, म आएको छु है, डाक्टर तोसिमा कार्की ।
आचार्यः हजुर चिने म्याम, यो देशमा स्वास्थ्य सहज होस् न ।
डा. तोसिमा : अनि किन यस्तो गुर्न भएको छ तपाईंले ? मेरो नाम पनि लेख्नु भएको रहेछ !
आचार्य : मैले लेखेको छु, हजुरलाई पनि सम्बोधन गरेको छु । मैले सबै भोगाइहरु लेखेको छु । उद्यम गर्न खोजे । प्रगति गर्न खोजेँ । ट्याक्सको कुराहरु हेर्नुस् ।
डा. तोसिमा : मैले पूरा पढेँ तपाईंको स्ट्याटस, हेर्नुस् त तपाईंले के गर्नु भएको यस्तो । हामी थियौं नि, राज्य छ नि तपाईंहरुका लागि ?
आचार्य : कसैले सुन्दैन । योभन्दा भएको कसैले सुन्दैन ।
डा. तोसिमा : हाम्रो नयाँ सरकार बनेको थियो, हामी नयाँ आएका थियौं । आउनु पथ्र्यौ । केही न केही उपाय खोज्थ्यौं ।
आचार्य : कसैले सुन्दैन म्याम ।
त्यसपछि आचार्यले बोलेको प्रष्ट बुझिँदैन । अहिलेसम्म राम्रो होस छ, नआत्तिनुस् न भन्दा आचार्यले ‘पेन किलर’ लगाइदिन भन्छन् । त्यसपछि आचार्यले ‘रवि सरलाई पनि भन्दिनुस्’ भन्नुहुन्छ ।
भिडियो हुर्नुहोस्