बालुवाटारमा प्रधामन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” र रास्वपा सभापति लामिछानेबीच छलफल । फाइल तस्बिर

आइतबार नेपाली नागरिकता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” लाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आफूलाई पुन: गृहमन्त्री बनाउन प्रधानमन्त्री दाहालसँग अनुरोध गरेका छन् ।

प्रधानमन्त्री दाहासँगको भेटमा रास्वपा सभापति लामिछानेले आफू गृह मन्त्रालयमा फर्किने चाहना जानकारी गराएको बालुवाटार स्रोतले जनाएको छ ।

स्रोत भन्छ, “लामिछानेले आफ्नो नागरिकताको मुद्दा सकिएको र केही दिनमा राहदानीको छानबिन पनि सकिने भन्दै त्यसपछि गृहमन्त्रीका रूपमा आफूलाई पुनः नियुक्ति गर्न प्रधानमन्त्री प्रचण्डसँग अनुरोध गरेका हुन्।”

लामिछानेले चितवन-२ मा हुने उपनिर्वाचनमार्फत आफूले जितेर संसदमा आउने हुनाले आफूलाई गृहमन्त्री नियुक्त गर्दा अप्ठ्यारो नहुने तर्क गरेको स्रोतको दाबी छ ।
आइतबार नै नेपाली नागरिकताको प्रमाणपत्र लिएका उनी आजै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा मनोनित भएका थिए ।

गत शुक्रबार सर्वोच्च अदालतले नागरिकता मुद्दामा लामिछानेलाई दोषि ठहर गर्दै उनको सासंद र रास्वपाको सभापति पद खारेज गरिदिएको थियो । सर्वोच्चको उक्त आदेशसँग लामिछानेले पदबाट राजीनामा दिएका थिए ।

प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई ठोस जवाफ र आश्वासन नदिएको बुझिएको छ । उनले यसबारे कानुनविद्हरू र निर्वाचन आयोगसँग परामर्श गरेर मात्रै जवाफ दिने भनेको बालुवाटार स्रोत बताउँछ।

आज बेलुका नै भएको प्रम दाहाल र एमाले अध्यक्ष ओलीबीचको भेटवार्तामा पनि रवि लामिछानेलाई पुन: गृहमन्त्रालय दिने वा नदिने बिषयमा छलफल भएको बुझिएको छ ।

नेपालको संविधानले गैरसासंद व्यक्ति पनि बढीमा छ महिनाको लागि मन्त्री हुन पाउने व्यवस्था गरेको छ । उता रास्वपाले गृहमन्त्रालय आफ्नो पार्टीले नै पाउनुपर्ने धारणा राख्दै आइरहेको छ ।

गृहमन्त्रालय आफ्नो पार्टीले नपाए सरकारको समर्थन फिर्ता लिने सम्मका कुराहरू बाहिरिएका छन् ।

के.टि.य.म दैनिक बाट साभार

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *