काठमाडौं । एक नेपाली नर्सिङ सहायकले सिड्नीको बृद्ध हेरचाह गृहमा वृद्ध बिरामीहरूलाई थप्पड हान्नुका साथै धकेलेको कुरा स्वीकार गरेकी छिन् । अस्मिता पाण्डे नेपालबाट कामदार भिसामा अष्ट्रेलिया पुगेकी थिइन् ।

पाण्डे इपिङस्थित एस्टिया हेल्थमा कार्यरत थिइन् । बृद्धाहरूलाई थप्पड हानेको आरोपमा नर्स पाण्डे पक्राउ परेकी हुन् । अष्ट्रेलियाको एक बृद्ध हेरचाह गृहमा रहेका बृद्धबृद्धालाई थप्पड हानेको आरोपमा त्यहाँको प्रहरीले पाण्डेलाई पक्राउ गरेको हो ।

अष्ट्रेलियाको ९ न्यूजका अनुसार पाण्डेमाथि ९५ वर्षीया बृद्धा ९५ वर्षीय जोन मुरेलाई थप्पड हान्नुका साथै धकेलेको आरोप छ । बृद्ध हेरचाह गृहका अर्का सहयोगीले मुरेकी छोरीलाई फोन गरी घटनाबारे जानकारी गराएकी थिइन् ।

त्यस्तै रिता बल नामकी अर्की बृद्धालाई पनि पाण्डेले दुर्व्यवहार गरेको खुलेको छ । नर्स पाण्डेलाई पक्राउ गरी अदालतमा मुद्दा चलाइएको छ । अर्की पीडित महिला बलको चोट गम्भीर भएका कारण उनलाई अस्पतालमा भर्ना गर्नुपरेको थियो ।

छोरी रोबिन बलले भनिन्, ‘यो एकदम डरलाग्दो छ, उनको तौल ४३ किलो छ, उनी सुतिरहेकी छिन् ।’ यदि साक्षीहरू अगाडि नआएको भए पाण्डेले सायद अझै पनि यो अपराध गरिरहेकी हुने धेरै पीडित परिवारको बुझाई रहेको छ ।

एस्टिया हेल्थका प्रमुख कार्यकारी अधिकृत सीन बिल्टनले एक बयानमा माफी माग्दै भनेका छन्, ‘हाम्रा बासिन्दाहरूको सुरक्षा र कल्याण हाम्रो पहिलो प्राथमिकता हो । हामी हाम्रा बासिन्दाहरूलाई कुनै पनि प्रकारको दुर्व्यवहार गर्दैनौं ।’

बयानमा उनले अगाडि भनेका छन्, ‘हामीले तुरुन्तै कर्मचारीलाई हटायौं, त्यसपछि उनको रोजगारी सम्झौता खारेज गर्‍यौं । यो पीडादायी घटना अब निष्कर्षमा पुगेको छ ।’

यस्तो अवस्थामा आफू र संस्थान पीडित परिवारहरूसँग उभिएको कुरा पनि उनले जनाएका छन् । अहिले गर्भवती भएकी पाण्डेलाई स्वास्थ्य सेवामा काम गर्न प्रतिबन्ध लगाइएको छ । उनीविरुद्ध मार्चमा सजाय सुनाइने छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *