काठमाडौं । गृहमन्त्रालयलाई लिएर गठबन्धनभित्र संघर्ष जारी रहँदा छलफल पनि बढाइएको छ । यसबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता साझेदार नेकपा (एमाले) र राप्रपाका अध्यक्षसँग बुधबार बालुवाटारमा छलफल गर्नुभएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष एवं उपप्रधान तथा ऊर्जा मन्त्री राजेन्द्र लिङ्देनसँग प्रधानमन्त्री प्रचण्डले छलफल गर्नुभएको हो । सत्ता साझेदार अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टीका कारण प्रचण्ड सरकार संकटमा परेको छ ।
सो पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता प्रकरणमा सांसद पद बदर भएपछि गृहमन्त्रालय कसले लिने भनेर बहस जारी छ । अहिले प्रधानमन्त्री आफैंले गृहमन्त्रालय सम्हाल्नु भएको छ ।
नागरिकता पुन: प्राप्ति गरेपछि रास्वपा सभापति रवि लामिछानेले मङ्गलवार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृह मन्त्रालय आफूले नपाएका सरकारबाट बाहिरिने चेतावनी दिनु भएको थियो ।
तर प्रचण्ड गृह मन्त्रालय अरू दललाई दिने पक्षमा हुनुहुन्न । फागुन २५ गते हुन लागेको राष्ट्रपतिको निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने विषय पनि सत्ता गठबन्धनभित्र पेचिलो बन्दै गएको छ ।