काठमाडौँ । सरकारमा गएको ४२ दिनमा नै बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई फेरी सरकारमा फर्काउने तयारी थालिएको छ । सत्तारुढ मुख्य दलहरु एमाले, माओवादी र राप्रपाका नेताहरुले रास्वपालाई फेरि सरकारमै फर्काउने गरी अनौपचारिक छलफल सुरु गरेका छन् । यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि सत्तारुढ गठबन्धन जोगाउन प्रयास भइरहेको बताएका छन् ।
गृह मन्त्रालयको विवादले सरकार गठनको ४२ दिनमा हिजो रास्वपा सरकारबाट बाहिरिएपनि उसले सरकारलाई दिएको समर्थन कायमै राखेको छ । रास्वपा बाहिरिएपछि रिक्त रहेको मन्त्रालयमा तत्काल मन्त्री नियुक्त नगर्ने र आफैँले जिम्मेवारी सम्हाल्ने प्रधानमन्त्रीको तयारी छ ।
पुस १० गते प्रधानमन्त्री नियुक्त भए लगत्तै पुष्पकमल दाहाल प्रचण्डले ११ गते उपप्रधान र गृहमन्त्रीको जिम्मेवारी दिएपछि रास्वपा सभापति रवि लामिछानेसहित रास्वपाबाट दुई मन्त्री र एक राज्य मन्त्री थपिएका थिए । पार्टीको तर्फबाट सरकारमा नेतृत्व गरेका लामिछानेको पद नागरिकतासम्बन्धी सर्वोच्च अदालतको फैसलाले खारेज गरेसँगै रविको सांसद पद, मन्त्री पद र सभापति पदसमेत गएको थियो ।
रविले पुन नागरिकता प्राप्ति गरेसँगै उनी रास्वपाको सभापति बनेता पनि उनी गृह आफै संहाल्न चाहान्थे । तर गैरसांसदलाई मन्त्री नबनाउने प्रम प्रचण्डको अडानपछि आइतबार रास्वपा सरकारबाट बाहिरिएको हो । सरकारबाट बाहिरिए लगत्तै पत्रकार सम्मेलनको आयोजना गर्दै सभापति लामिछानेले नेपालको विकाशमा पत्रकारहरु बाधक रहेको आरोप लगाए । उनले कान्तिपुर, अनलाइनखबर, सेतोपाटी, लगायतका ठूला मिडियाका प्रकाशक र सम्पादकहरु गरेर १२ भाई मिलेर ठूला नेताहरुलाई मात्रै नभएर आँफुलाई पनि खेदेर आजको यो अवस्थामा पुर्याएको आरोप लगाएका छन् ।
सरकारबाट बाहिरिने निर्णय गरेसँगै विशेष पत्रकार सम्मेलनको आयोजना गरेको सम्मेलनमा बोल्ने क्रममा रविले आफ्नो नागरिकता र पासपोर्टका विषयमा पनि बोलेका छन् । उनले अमेरिकाबाट फर्किएपछि आमाको काखमा फर्किएको छोराले आमाले शर्तहरु राख्छिन् भन्ने कुराहरुको हेक्का नराख्दा आज यो झन्जट आइपरेको उनले बताए । उनले नेपाली पासपोर्ट लिएपछि बल्ल अमेरिकी पासपोर्ट लिएको स्विकार गरेका छन् ।