काठमाडौं। इन्टरनेट सुविधा मात्र हैन, खतरनाक पासोपनि हो । जान्नुभएन र होसियारी अपनाउनुभएन भने जीवनभर कमाएको रकम पलभरमा स्वाहा हुनसक्छ ।
ललितपुरका हरिप्रसाद ढकालले यस्तै खेप्नुपर्यो । र तपाई हरेकका लागि सचेत बनाउन त्यो घटना सार्वजनिक गर्दैछौ । ढकालको मोबाइलमा एक्कासी बैंक खाताबाट रकम घटेको म्यासेज आयो। उहाँले कसैलाई चेक दिनुभएकोपनि थिएन ।
कही मोबाइल एपबाट रकम तिरेको वा एटीएमबाट रकम निकालेकोपनि थिएन । पुस २५ गते बेलुका ७ बजेतिर एनआइसी बैंकको खाताबाट रकम काटेको म्यासेज आएको थियो। कुनै त्रुटिले काट्यो भनेर वास्ता गर्नुभएन ।
तर भोलिपल्टसम्म उहाँको रकम फिर्ता आएन। बरु उल्टै भोलि पनि त्यसै गरी रकम काट्न थाल्यो। उहाँको खाताबाट दुई पटकमा चार लाख रुपैयाँ काटिसकेको थियो।
त्यसपछि उहाँ जिल्ला प्रहरी परिसर ललितपुर पुग्नुभयो । प्रहरी पनि अचम्ममा परे। त्यसपछि खातामा भएको रकम हिनामिना भएको भन्दै प्रहरीले अनुसन्धान सुरु गर्यो। त्यही अनुसन्धानको क्रममा प्रहरीले ८ जनालाई पक्राउ गर्न सफल भयो। जसको लहरो हरि ढकालको मोबाइल बैंकिङ घटेको प्रकरणसम्म जोडिएको छ।
परिसरको टोलीले भारतको बिहार प्रदेश घर भएका २९ वर्षीय अवधेश कुमार, सप्तरी कृष्णासवर गाउँपालिका घर भएका दिलीपकुमार चौधरी, पर्सा विन्दवासिनी बस्ने नगेन्द्र साह कानु, रौतहट रङपुर नगरपालिका घर भएका २७ वर्षीय रविना चौधरी, बारा कोल्बी नगरपालिका घर भएका सन्तोष कुँबर, पर्सा वीरगंज महानगरपालिका घर भएका २८ वर्षीय राजु पटेल, २० वर्षीय साहिल परवेज र दिनेश राउत र शिवशंकर राउतलाई नियन्त्रणमा लिएको हो।
प्रहरीको अनुसन्धान उनीहरूले एप बनाएर अरूको मोबाइलको डाटा ह्याक गरेर रकम झिक्ने गरेको देखिएको छ। उनीहरूले यसरी धेरै मानिसलाई आफ्नो एपमार्फत ठगी गरेको परिसर ललितपुरका प्रमुख एसएसपी सिद्धिविक्रम शाहले बताउनुभयो ।
मात्र १२ पास युवकले बनाएको डरलाग्दो एप
२० वर्षीय साहिल परबेज ‘ नेपाली गर्ल’ नामको एप बनाए। जसमार्फत उनले ठगी गर्ने गरेको खुलेको छ। साहिल कक्षा १२ पास युवक हुन्। उनले युट्युव हेरेर नै एप बनाएको एसएसपी शाहको दाबी रहेको छ। यही एपबाट अहिलेसम्म २० जनाको ५० लाख रुपैयाँ भन्दा बढी रकम झिकिसकेका छन्।
‘उसले टेक्निकल विषय पढेको देखिँदैन। तर अहिलेसम्म ५० लाख रुपैयाँ भन्दा बढी अरूको बैंक खाताबाट रकम झिकेको उजुरी परिसकेको छ,’ एसएसपी शाहले भन्नुभयो । उनले भीपीएन प्रयोग गरेर ‘रियल नम्बर’ एपबाट मानिसको ह्वाट्सएप नम्बर पत्ता लगाउँछन्।
त्यसपछि पत्ता लागेको नम्बर अन्य साथीहरूलाई फर्वाड गरेर उनीहरूले ह्वाटसएप ‘नेपाली गर्ल’ डाउन लोड हुने लिङ्क सहितको म्यासेज पठाउँछन्। त्यहाँ ‘ तपाई सेक्स पार्टनर खोजी रहनु भएको छ ? भन्ने लेखिएको हुन्छ। अब ढुक्क भएर ‘नेपाली गर्ल’ एप डाउन लोड गरेर सेक्स पार्टनर पाउनु हुन्छ भन्ने लेखिएको छ। जसले यो एपलाई डाउन लोड गर्छ, उसको मोबाइलमा भएको सबै डाटा ह्याक हुन्छ।
‘डाउन लोड गरेपछि मोबाइलको सबै जानकारी उनीहरूले पाउँछन्। त्यसपछि उनीहरूको अपराधको धन्दा सुरु हुन्छ,’ एसएसपी शाहले भन्नुभयो ।
त्यसपछि मोबाइलमा कुनै पनि मोबाइल बैंकिङ, विभिन्न वालेटहरू भएमा त्यहाँबाट उनीहरूले रकम झिक्ने गर्छन्। त्यहाँबाट उनीहरूले अरूको खातामा रकम ट्रान्सफर गरेको देखिएको छ। रकम झिक्नको लागि अरूलाई केही रकम दिएर खाता प्रयोग गर्ने, वा मोबाइलमा नै नागरिकताको प्रतिलिपि भएमा खाता खोलेर त्यहीबाट पनि रकम झिक्ने गरेको देखिएको छ।
यसरी ठगिनेहरूमा युवा पुस्ताहरू नै धेरै देखिएको छ। अहिलेसम्म ललितपुर परिसर बाहेक साइबर ब्युरोमा २० वटा र उपत्यका अपराध अनुसन्धान कार्यालयमा ७ वटा उजुरी परिसकेको छ। यसरी हेर्दा ५० लाख रुपैयाँ भन्दा बढी ठगिएको छ।
‘अहिलेसम्म २० वटा उजुरी भएपनि अझै बढ्ने देखिन्छ। कतिले यो एप हेरे भनेर भन्न लाज लागेर पनि उजुरी नआएको हुन सक्छ,’ एसएसपी शाहले भन्नुभयो । उनीहरुले रकम मात्र होइन मोबाइलमा भएका अन्य महत्वपूर्ण कुराहरु समेत चोरी गरेको हुनसक्ने प्रहरीको आशंका रहेको छ।
प्रहरीले पक्राउ परेका विरुद्ध उच्च अदालत पाटनबाट बैंकिङ कसुरमा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ।